भोलिदेखि सुन्दरहरैंचामा पहिलो वडास्तरीय क्रिकेट प्रतियोगिता हुने

विराटचोकः कात्तिक ५ गतेदेखि मोरङको सुन्दरहरैंचामा पहिलो पटक वडास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा १२ टिम सहभागी हुने भएका छन् ।

इन्द्रपुर क्रिकेट क्लबको आयोजनामा हुने प्रतियोगितामा सुन्दरहरैंचाको वडा नम्बर १ बाहेक सबै वडाका एकएक टिम सहभागी हुनेछन् । वडा नम्बर १२ का भने २ टिम सहभागी हुनेछन् । क्लबका अध्यक्ष प्रमेन्द्र केसीका अनुसार स्थानीय स्तरमा क्रिकेटको विकास गर्न, युवाहरूमा क्रिकेट खेलप्रतिको चासो र जागरूकता बढाउने लक्ष्यका साथ पहिलो पटक प्रतियोगिता गर्न लागिएको हो ।

नगरभित्रका प्रतिभाशाली खेलाडीहरूलाई पहिचान गरेर भविष्यमा नगरको एउटा क्रिकेट टिम निर्माण गर्न पनि यो आयोजना गर्न लागिएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै सुन्दरहरैंचा १२ का वडाध्यक्ष तथा नगर प्रवक्ता रोशनप्रसाद ढकालले इन्द्रपुर क्रिकेट क्लबले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगिता सफल बनाउन सबैलाई अनुरोध गर्नुभयो ।

सुकुना बहुमुखी क्याम्पसको खेल मैदानमा हुने प्रतियोगितामा पहिलो हुने टिमले नगद २५ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने टिमले नगद १५ हजारसहित ट्रफी तथा प्रमाणपत्र पाउनेछ । उत्कृष्ट खेलाडीलाई नगद २ हजार दिइने आयोजकले जनाएको छ । खेल सम्पन्न गर्न ३ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

नगर खेलकुद विकास समिति सदस्य केशव बास्तोलाका अनुसार आगामी वर्षका प्रतियोगितामा नगरले थप बजेट व्यवस्थापन गर्नेछ । प्रतियोगिताको मुख्य प्रायोजक सुन्दरहरैंचा वडा नम्बर १२ को कार्यालय रहेको छ । यस्तै प्रायोजकमा सुविजिमुर माध्यमिक विद्यालय, सह–प्रायोजक बाल प्रतिभा इङ्लिस स्कुल, सहयोगी संस्थामा बग्गी, सिद्धार्थ स्कुल र मुख्य सहयोगी संस्थामा नगर खेलकुद विकास समिति सुन्दरहरैंचा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top