विराटचोकः नेपाल राष्ट्र बैंकले छापेका नोट पुरानो हुँदै गएपछि राष्ट्र बैंकले नै फिर्ता लिएर व्यवस्थापन गर्ने गरेको छ । च्यात्तिएको, मक्किएको, गलेको, जलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेर मुद्रण उडेको वा धमिलो भएको र रंगिएको नोट राष्ट्र बैंकले नै फिर्ता लगेर नष्ट गर्ने गरेको छ ।
राष्ट्र बैक, मुद्रा व्यवस्थापन विभाग, राष्ट्र बैंकका प्रदेशस्थित सम्पूर्ण कार्यालयहरू तथा नोटकोष सञ्चालन गर्ने सम्पूर्ण वाणिज्य बैंकहरूबाट झुत्रो नोट साट्न सकिन्छ । झुत्रो नोट धेरै मक्किएको, नोटहरू गन्न असजिलो हुने अवस्थामा रहेको वा त्यस्ता नोट सग्लो नभएमा साट्नको लागि झुत्रो नोटको पृष्ठभागमा सोही दरको सिंगो नोट बराबरको कागजको टुक्रा टाँसी झुत्रो नोट साट्ने बैंकमा पेश गर्नु पर्दछ ।
नम्बर नमिलेको नोट, सच्याएको नोट, मनोमानी लेखेको नोट, दोहोरो सट्टाभर्ना जान सक्ने सम्भावना भएको, नोटको दर र पूरा नम्बर यकिन गर्न नसकिने तथा ५० प्रतिशतभन्दा कम भाग भएको नोटको भने बैंकले सट्टाभर्ना गर्दैन ।
केही समय अघिसम्म झुत्रा नोटलाई नष्ट गर्दै आएकोमा पछिल्लो समय यसबाट ब्रिकेट बनाएर बैंकले बिक्री समेत गर्ने गरेको छ । बैंकले चलनचल्तीमा लैजान अयोग्य तथा बैंकले जाली वा नक्कली भनि जफत गरेका नोटलाई धुल्याउँछ । केन्द्रीय बैंक र प्रदेश कार्यलयहरुमा जम्मा भएका नोट धुल्याउनको लागि बनाइएको समितिमा जम्मा गर्नुपर्ने छ । उक्त समितिमा विभागका प्रमुख संयोजक रहने छन् भने अर्थ मन्त्रालयको प्रतिनिधि र नोट धुल्याउने इकाई र फाँटका प्रमुख सदस्य रहन्छन् । सोही समितिको रोहबरमा नोटको व्यवस्थापन हुन्छ ।
समितिमा बुझाइएका नोटको समितिले नोटको थान गन्ती गरी लगत खडा गरी राख्ने छ र लगत खडा गरिएका नोट ढुकुटीबाट फर्मेश वा सेडिङ्ग तथा विकेटिङ्ग मेशिन रहेको स्थानसम्म लगेर नोट गन्ती गर्ने, रुजु गर्ने तथा नोट धुल्याउने मेशिन वा फर्नेश रहेको स्थानको पर्याप्त कभरेज हुने गरी कम्तीमा ९० दिनको दृश्यको अभिलेख सुरक्षित राख्ने सिसिटिभी क्यामेराको अनिवार्य व्यवस्था गर्नु पर्नेछ ।
सेडिङ्ग तथा बिकेटिङ्ग गर्ने प्रयोजनको लागि छुट्टयाइएका पाँच सय र एक हजार दरका नोट शत प्रतिशत पुनः गन्ती गरी धुल्याउनु पर्ने व्यवस्था छ । नोट धुल्याउने क्रममा समितिका पदाधिकारीको नाम, थर, पद र कर्मचारीको कोड नम्बरसहित छुट्टै माइन्युट तयार गरी राख्नु पर्नेछ ।
नोट धुल्याउनु अघि समितिको रोहवरमा पाँच सय र एक हजार दरका नोट बाहेक अन्य दरका नोटको प्रत्येक बण्डलको शतप्रतिशत प्याकेट गन्ती गरी ती बण्डलमध्ये नमूना छनोट (¥यान्डम स्याम्पलिङ्ग) गरी कम्तीमा पाँच प्रतिशत बण्डल छुट्टयाई उक्त बण्डलमा रहेको प्याकेट तथा थान समेत गन्ती गरी रुजु गरेपश्चात् मात्र धुल्याउनु पर्नेछ ।
ग्रेडिङ्ग तथा ब्रिकेटिङ्ग मेशिनको प्रयोग गरी धुल्याउने व्यवस्था नभएको ठाँउमा भने सम्बन्धित कार्यालयले समितिको रोहवरमा मुचुल्का खडा गरी फर्नेसमा जलाई धुल्याउने छ । फर्नेसमा जलाई धुल्याउँदा पाँच सय र एक हजार दरका नोट दुवै तर्फको नम्बरमा पर्ने गरी मेसिनले ४ वटा प्वाल पार्नु पर्नेछ र त्यस्तो प्वाल पार्दा निस्केका नोटका सबै टुका धुल्याउने नोटसँगै जलाउने गरी सुरक्षित राख्नु पर्नेछ ।
सेडिङ तथा ब्रिकेटिङ मेशिनको माध्यमबाट नोट धुल्याउँदा सबै दरका नोटलाई प्वाल नपारी सोझै ग्रेडिङ्ग गर्न सकिने छ । ग्रेडिङ गरिएका नोटका टुक्राबाट तयार भएका सबै ब्रिकेट विभागले बिक्री गरी वा अन्य उचित तवरले व्यवस्थापन गर्नु पर्नेछ । अहिले राष्ट्र बैंकले यसरी नोटबाट बनेका ब्रिकेट बिक्री गर्ने गरेको छ ।
नोट धुल्याउने कार्य सम्पन्न भइसकेपछि समितिले सोको प्रतिवेदन तयार गरी त्यस्तो प्रतिवेदन विभागमार्फत् गभर्नरको कार्यालय र बैंकमा पठाउने गर्छ ।