यस्तो थियो गत निर्वाचनमा ग्रामथानको मत परिणाम

विराटचोकः रिक्त रहेका स्थानमा जनप्रतिनिधि चयन गर्न यही मंसिर १६ गते देशभर उपनिर्वाचन हुँदैछ । जसअन्तर्गत मोरङको ग्रामथान गाउँपालिकामा पनि अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि निर्वाचन आयोगले आगामी मंसिर २ गते उम्मेदवारको मनोनयन हुने कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

निर्वाचन आयोगले गरेको अद्यावधिक विवरण अनुसार ग्रामथान गाउँपालिकामा मंसिर १६ गते हुने निर्वाचनमा मतदान गर्ने मतदाताको सङ्ख्या २७ हजार ४३९ जना रहेको छ । २०७९ सालको निर्वाचनमा उक्त पालिकाको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारुले ७ हजार ६०५ मत ल्याएर विजयी हुँदा, एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ र माओवादीका विजयकुमार सरदारले २ हजार ७२७ मत ल्याएका थिए ।

पालिकाको ७ वटा वडामध्ये एमालेले ५, कांग्रेसले १ र माओवादी केन्द्रले एउटा वडामा वडाध्यक्ष जितेका छन् । वडाध्यक्षको मत जोड्दा उक्त पालिकामा कांग्रेसको ५ हजार ५३७, एमालेको ६ हजार ७६३ र माओवादी केन्द्रको २ हजार ६६५ मत रहेको छ । त्यसबेला १ नम्बर वडामा स्वतन्त्र उम्मेदवार बनेका नमोनारायण माझीको मत जोड्ने हो भने माओवादीको मत ३ हजार २१९ पुग्ने देखिन्छ ।

२०७४ सालको निर्वाचनमा भने उक्त पालिकामा एमाले विजयी बनेको थियो । त्यसबेला एमालेका शिवनारायण माझी थारुले ४ हजार ७२० मत ल्याउँदा मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का जयप्रकाश गच्छदार थारुले ४ हजार ६६१ र कांग्रेसका कृष्णकुमार सरदार थारुले ३ हजार १४३ मत पाएका थिए । त्यसबेला माओवादी केन्द्रका उम्मेदवार रमेशकुमार भगतले भने १ हजार ६०२ मत ल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top