विराटचोकमा भयो गणेशबाबु अधिकारीको उपन्यास ‘रेजा’माथि विमर्श

खेमचन्द्र अधिकारी
विराटचोकः साहित्यकार गणेशबाबु अधिकारीद्वारा लिखित उपन्यास ‘रेजा’माथि विमर्श कार्यक्रम मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा शनिबार  सम्पन्न भएको छ ।

राइडर्स महफिल सुन्दरहरैंचाले आयोजना गरेको कार्यक्रमको सहजीकरण साहित्यकार तथा सञ्चारकर्मी विवेक विवश रेग्मीले गर्नुभएको थियो । पुस्तकमाथि चर्चा गर्दै महेन्द्र बहुमुखी क्याम्पस धरानकी प्राध्यापक डा. अस्मिता बिष्टले कृतिको महत्वपूर्ण पक्ष नै कृतिको विषयवस्तु रहेको बताउनुभयो । प्रेमकथामा आधारित उपन्यासमा प्रेमको वियोगान्त रूप देखाउनु नै उपन्यासको सबल पक्ष भएको उल्लेख गर्दै प्रेमलाई सुखद बनाउँदा विवाहमा गएर सकिने र श्रीमानश्रीमतीबीचको गनगनमा सीमित हुने भएकाले प्रेम असफल हुँदा नै साहित्य जन्मने उहाँको भनाइ थियो ।

कृतिकार अधिकारीले परदेशमा बसेर लेखेको कहानी नै रेजा भएको बताउँदै शुरुमा गजल लेखनमा केन्द्रित भए पनि परदेशमा हुँदा उपन्यास लेखेको बताउनुभयो । गजलमा समेट्न नसकिएका विषयलाई लिएर उपन्यास लेखेको उहाँको भनाइ थियो ।

कृतिको पात्रमा आफ्नै कथा राख्दा राम्रो प्रस्तुति दिन सकिने र लेख्न पनि सहज हुने भएकाले विषयवस्तुको गहिराइमा पुग्न लेखकले आफ्नो कथा पनि कृतिमा राख्ने गरेको र आफूले पनि त्यस्तो प्रयोग गरेको कृतिकार अधिकारीले बताउनुभयो । पुस्तकलाई समाजको बिम्ब बनाउनुपर्दा धेरै पात्रको आवश्यक पर्ने हुनाले आफूले कृतिमा धेरै पात्र राखेको उहाँको भनाइ थियो ।

पछिल्लो समयमा साहित्यको प्रमुख विषयवस्तुको रूपमा नेपाली समाजको सङ्घर्षलाई नै प्राथमिकता दिने गरिएको र रेजा उपन्यासमा त्यसको छिटपुट प्रभाव देखिएको डा. बिष्टले बताउनुभयो । उपन्यासमा मिथकको प्रयोग नभएको र वैचारिक पक्ष समेटिएको तथा समस्यासँग जुध्न सिकाउने कृतिको रूपमा उपन्यास रहे पनि वैचारिक पक्ष पनि नगण्य रहेको डा. बिष्टको भनाइ थियो ।

शुरुमा प्रथम पुरुष शैलीमा लेखिए पनि उत्तराद्र्धमा तृतीय पुरुष शैलीमा उपन्यास लेखिनु कृतिकारको कमजोरी भएको डा. बिष्टले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top