सुकुना क्याम्पसका १८३ जना विद्यार्थीलाई १८ लाख ८२ हजार रुपैयाँ छात्रवृत्ति वितरण

विराटचोकः सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङले विभन्न कक्षा, तह र कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूलाई आज एक समारोह आयोजना गरी १८ लाख ८१ हजार ९ सय ९८ रुपैयाँ छात्रवृत्ति वितरण गरेको छ ।
क्याम्पसमा स्थापना गरिएको अक्षयकोषको व्याज, विभिन्न सङ्घ, संस्था, निकायहरूले प्रदान गरेको छात्रवृत्ति रकम, शिक्षक तथा कर्मचारीहरूले उपलब्ध गराएको रकम र क्याम्पस स्रोतबाट समेत गरी पहिलो चरणमा शैक्षिक रूपमा उत्कृष्टता हासिल गर्ने १८३ जना जेहेन्दार विद्यार्थीहरूलाई प्रमाणपत्रसहित सो रकम छात्रवृत्तिस्वरुप वितरण गरिएको क्याम्पसले जनाएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको सभापतित्वमा क्याम्पस सभाकक्षमा छात्रवृत्ति वितरण समारोह सम्पन्न भएको हो । समारोहमा अक्षयकोषदाताहरू, छात्रवृत्तिदाता सङ्घ\ संस्था\ सहकारी\ बैङ्कका प्रमुखहरू, शिक्षक तथा कर्मचारीहरू र छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरू गरी ३ सय ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

संविधान सभाका सभासद चन्द्रबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । मङ्सिर महिनामा दोस्रो चरणका लागि शैक्षिक रूपमा उत्कृष्टता हासिल गर्ने जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिने क्याम्पस प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले आगामी वर्षहरूमा छात्रवृत्ति पाउने विद्यार्थीको सङ्ख्या बढाउँदै लगिने बतायो । सुकुना बहुमुखी क्याम्पस छात्रवृत्तिका लागि पनि अब्बल बन्ने उहाँको भनाय थियो । सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले सञ्चालन गर्नुभएको कार्यक्रममा छात्रवृत्ति व्यवस्थापन समितिका सदस्यहरू उपप्राध्यापकहरू गेहेन्द्र खनाल, टीकाप्रसाद उपाध्याय, खगेन्द्रराज दाहाल, रमेश खतिवडा र लेखाफाँट प्रमुख युवराज सुवेदीले सहजीकरण गर्नुभएको थियो ।

आज वितरण गरिएको छात्रवृत्ति बाहेक क्याम्पसका विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीहरूमध्ये ६६ जना विद्यार्थीहरूले विश्वविद्यालय अनुदान आयोग नेपालबाट जनही वार्षिक रु. १५ हजार रुपैयाँका दरले जम्मा ९ लाख ९० हजार रुपैयाँ छात्रवृत्ति पाइरहेका छन् । रुक्माङ्गद कटवाल ट्रष्टबाट एक जनाले वार्षिक रु. २५ हजार २ सय रुपैयाँ र थप एक जनाले वार्षिक रु. ३५ हजार रुपैयाँ गरी ६० हजार २ सय रुपैयाँ छात्रवृत्ति पाइरहेको हुनाले पहिलो चरणमा २ सय ५१ जना विद्यार्थीहरूले जम्मा २९ लाख ३२ हजार १ सय ९८ रुपैयाँ छात्रवृत्ति पाएको सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालले बताउनुभयो ।

दोस्रो चरणमा स्नातक तेस्रो वर्षको अन्तिम परीक्षाको प्राप्ताङ्कका आधारमा थप विद्यार्थीहरूले छात्रवृत्ति पाउने उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top