पूर्वी क्षेत्रमा वर्षा जारी, दिउँसो अझ ठूलो पानी पर्न सक्ने

विराटचोकः आज बिहानैदेखि कोशी प्रदेशका पूर्वी भाग, काठमाडौं उपत्यका र आसपासका जिल्लामा वर्षा भइरहेको छ । वर्षा मध्यमदेखि भारी प्रकृतिको रहेको र आज दिउँसोतिर वर्षा केही बढ्न सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गत २४ घण्टामा सुनसरीको तरहरा, धनकुटाको त्रिवेणी, झापाको अर्जुनधारा, इलामको सोक्तिम टि स्टेटमा ठूलो वर्षा भएको छ । भारतको उत्तर–पूर्व आसाम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभावले नेपालमा वर्षा गराइरहेको हो । पश्चिमी क्षेत्रबाट भने मनसुन बाहिरिइसकेको विभागले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १५ गते नै सूचना निकालेर १८ गतेसम्म सतर्कता अपनाउन भनेको छ । असोज १० गतेदेखि १२ गतेसम्म भएको भारी वर्षाले जमिन कमजोर भएको ठाउँमा पनि यो वर्षाले पहिरो जान सक्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा, मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुनुका साथै कोशी र बाग्मती प्रदेशका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top