बेलबारी गोल्डकपको उद्घाटनमा सिलगुढीलाई हराउँदै झापा ११ क्वाटरफाइनलमा प्रवेश

बेलबारीः मोरङको बेलबारी–११ लक्ष्मीमार्गको खेल मैदानमा शुक्रबार शुरु भएको सातौं बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापा ११ विजयी भएको छ ।

भारत सिलगुडीको कञ्चनजंघा फुटबल क्लबलाई झापा ५–१ गोलअन्तरले पराजित गर्दै झापा ११ अघिल्लो चरणमा प्रवेश गरेको हो । खेलको ९ औं मिनेटमा सिलगुडीका प्रनेश प्रधानले वान भर्सेज वानमा उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि त्यसपछि कुनै पनि गोल हुन सकेन । झापाका गोलरक्षक सन्दीप लिम्बू पोष्ट छोडेर अघि बढेको मौकामा सो गोल भएको थियो ।

खेलको ३५ ओैं मिनेटमा झापाका आशिष चापागाईंले प्रहार गरेको बल पोष्टमा लाग्दै रिवाउन्ड भएको बलमा झापाकै निरज कार्कीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

मध्यान्तर अघिसम्म दुवै टोली १–१ गोलको बराबरीमा रहे पनि मध्यान्तरपछि झापा आक्रामक तरिकाले मैदानमा प्रस्तुत भएको थियो ।

खेलको ५३ ओैं मिनेटमा झापाका आशिष चापागाईंको पासलाई सदुपयोग गर्दै अभिषेक गुरुङले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए । ५९ ओैं मिनेटमा निरज कार्कीको पासमा उत्सव राईले झापाका लागि तेस्रो गोल गरेका थिए ।

७० ओैं मिनेटमा पुनः उत्सव राईले गोल थपे भने ७६ ओैं मिनेटमा भविन बोहोराको पासमा निकेश श्रेष्ठले टोलीका लागि ५ औं गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच झापाका उत्सव राई घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

आयोजक एलएक्स सिटी फुटबल क्लब र काठमाडौंको चित्लाङ फुटबल क्लबबीच आज प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदीले गर्नुभएको थियो ।

यसअघि असोज ११ गतेदेखि शुरु हुने भनिएको खेल उद्घाटन हुनै नपाई वर्षाका कारण स्थगित भएको थियो ।

प्रतियोगितामा आयोजक एलएक्स सिटी फुटबल क्लब, डिफेन्डिङ च्याम्पियन काठमाडौंको बिग्रेड ब्वाइज क्लब, झापा ११ फुटबल क्लब, सिलगुढीको कञ्चनजंघा फुटबल क्लब, काठमाडौंको चित्लाङ फुटबल क्लब, बुटबल लुम्बिनी फुटबल क्लब, सिरहाको सलहेश युवा क्लब, भोजपुर जिल्ला फुटबल संघ, धनकुटाको रारा फुटबल क्लब र भारत पश्चिमबंगालको दलसिंहपारा स्पोर्टस एकेडेमीको सहभागिता छ ।

प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले नगद ४ लाखका साथ शिल्ड प्राप्त गर्ने छन् । प्रतियोगितामा प्लेयर अफ द म्याच, सर्वाेत्कृष्ट खेलाडी, सर्वाेत्कृष्ट गोलरक्षक, सर्वाेत्कृष्ट डिफेन्डर, सर्वाेत्कृष्ट मिड फिल्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षकले व्यक्तिगत पुरस्कार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top