कनकलक्ष्मी साकोसको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न

गोठगाउँः कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको पाँचौँ वार्षिक साधारणसभा शनिबार लालीगुराँस भजनकीर्तन समूहको भवन सुन्दरहरैंचा ११ गोठगाउँमा सम्पन्न भएको छ ।

साधारणसभाले संस्थाका सचिव अर्जुनकुमार खत्री तिम्सिनाले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा नीति र कार्यक्रमका साथै कोषाध्यक्ष हिरण्य कालाखेतीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ । साधारणसभामा लेखा सुपरीवेक्षण समितिका संयोजक लुबराज आचार्यले गत आर्थिक वर्षको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभामा उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणीको नाम सार्वजनिक गरिएको थियो । उत्कृष्ट ऋण कारोबार गर्ने ६० जनामध्ये ५ जना र उत्कृष्ट बचतकर्तामध्ये ५ जनाको नाम चिठ्ठा तानेर सार्वजनिक गरिएको थियो । उहाँहरुलाई मंसिर १० गते संस्थाको स्थापना दिवसमा सम्मान गरिने भएको छ ।

उत्कृष्ट बचतकर्तातर्फ सुन्दरहरैंचा ६ की श्यामन्ती सिग्देल, सुन्दरहरैंचा ३ का रमेश अधिकारी र भुगुमाया अधिकारी, सुन्दरहरैंचा ४ की अमृता राया र सुन्दरहरैंचा ७ की रमला कटुवाल पुरस्कृत हुनुहुने भएको हो ।

उत्कृष्ट ऋणीतर्फ सुन्दरहरैंचा ३ का हराधन दास, कोशबहादुर मिजार र निर्मला बानिया तथा सुन्दरहरैंचा ६ की सम्झना चौधरी तथा सुन्दरहरैंचा ११ का रामजी निरौला पुरस्कृत हुने भएका हुन् ।

सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव अर्जुनकुमार खत्री तिम्सिनाले गर्नुभएको थियो । संस्थाका अध्यक्ष नागेश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार, विभिन्न उपसमितिका पदाधिकारी तथा विभिन्न सेवा केन्द्रका उपसमितिमा रहेका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top