दशैं काजमा हिँड्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक

सम्पादकीय

सरकारी कर्मचारीले दशैं अघिदेखि दशैंपछिसम्म काज बिदा लिएर घर जाने प्रवृत्तिले विकृति निम्त्याइरहेको छ । दुर्गम र हिमाली जिल्लाका कर्मचारी दशैं बिदामा समयमै घर पुग्न र घरबाट फर्कन नसक्ने भएकाले काजभत्तासहित दशैं बिदा दिने प्रचलन भए पनि पछिल्लो समय सुगम र तराईका जिल्ला वा उपत्यकामा घर हुनेले पनि काज भ्रमण बिदा लिने गरेका छन् । काज भ्रमण भत्ता समेत पाइने भएकाले सरकारी खर्च र सरकारी सवारी लिएर नै उनीहरु गाउँघर पुग्ने मात्रै होइन आफ्ना निजी कामसमेत सरकारी खर्चमै गर्न अभ्यस्त हुन थालेका छन् ।

विभिन्न मन्त्रालय, आयोग, विभागहरू र प्राधिकरण तथा सार्वजनिक संस्थानमा दशैंको बिदा शुरु हुनुभन्दा एक हप्ताअघि र बिदा सकिने दिनभन्दा एक हप्तापछि सम्मको काज स्वीकृत गरेर घर जाने प्रवृत्ति रहेको छ । यसरी काजका लागि भ्रमण आदेश स्वीकृत गराउन निवेदन दिँदा पनि सहजै स्वीकृत हुने गरेको छ । काज भ्रमण आदेश स्वीकृत गराएपछि श्रेणीअनुसार भ्रमण भत्ताका साथै गाडी र विमानबाट यात्रा गर्दा सोको खर्च पनि सरकारी कोषबाटै व्यहोरिने हुनाले पहुँचवाला कर्मचारीहरुले सकेसम्म दशैंमा लामो काज स्वीकृत गराउँछन् ।

भ्रमण आदेश स्वीकृत भएपछि कर्मचारी काममा हुनुपर्ने हो । तर, धेरैले अनुगमन लगायतका नाममा भ्रमण स्वीकृत गराउँछन् । दशैंका बेला बन्द भएका कार्यालय र र काम नभएका आयोजनाहरुको अनुगमन गर्नुपर्ने प्रयोजन नभए पनि भ्रमण आदेश भने सजिलै स्वीकृत हुने गरेको छ ।

यस्ता विकृतिको अन्त्य गर्न आवश्यक छ । समयमै यसतर्फ ध्यान नदिइएमा यसले डरलाग्दो विकृतिको रुप लिने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top