राष्ट्र बैंकले आज धनतेरसको दिन मात्रै सुनका असर्फी बेच्ने

काठमाडौंः नेपाल राष्ट्र बैंकले यस पटक धनतेरसको दिनमात्रै सुनका असर्फी बेच्ने भएको छ । धनतेरसको दिन सुनचाँदीजस्ता बहुमूल्य धातु वा त्यसबाट बनेको गरगहना, सामान किन्ने चलन नेपाल र भारतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले सुनचाँदीबाट बनेका असर्फी, स्मारिका सिक्का तथा मेडालियनको नयाँ बिक्रीमूल्य कायम गर्दै यसपटक बिक्री गरिने दिन पनि तोकेको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, टक्सार महाशाखाले एक सूचना जारी गर्दै सुनको असर्फी यो वर्ष एक दिन मात्र खरीद गर्न पाइनेछ । केन्द्रीय बैंकसँग रहेको मौज्दात असर्फी २ दशमलव ५ ग्राम प्रतिव्यक्ति एकथानका दरले पहिलो आउनेलाई प्राथमिकताको नीतिअनुसार कात्तिक १३ गते(धनतेरस)को दिन बिहान ११ बजेदेखि बिक्री गरिने भएको हो ।

चाँदीको स्मारिका तथा मेडालियन चाहिँ कात्तिक ११ गतेदेखि १४ गतेसम्म बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म प्रतिव्यक्ति बढीमा पाँच थानसम्म (गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राममध्येबाट) बिक्री गरिने भएको छ ।

असर्फी, चाँदीका स्मारिका र मेडालियन खरीदका लागि अनिवार्य रुपमा सक्कल नागरिकता वा सो खुल्ने प्रमाण र सोको प्रतिलिपिसहित उपस्थित हुनुपर्ने र नगद वा क्यूआरमार्फत समेत भुक्तानी गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

सुनको असर्फीको दररेट दैनिक रुपमा निर्धारण हुने भएकोले कात्तिक १३ गते ११ बजेपछि मात्र महाशाखाबाट बिक्री हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top