आज हरिबोधिनी एकादशी

विराटचोकः औषधीय गुणयुक्त तुलसीको पूजा आराधना गरी आज हिन्दू धर्मावलम्बीहरू हरिबोधिनी एकादशी पर्व मनाउँदैछन् । आज तुलसीसँग भगवान् दामोदर (विष्णु) को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । सनातन धर्मभित्र यस चराचर जगतको संरक्षण र पालना गर्ने जगन्नियन्ता परब्रह्म परमेश्वरका रूपमा विष्णुको आराधना हुने परम्परा पाइन्छ । मनुष्यहरूको एक वर्षको अवधि देवताहरू र पितृहरूको केवल एक दिनको अवधि मान्ने चलन छ ।

सूर्य दक्षिणायनतर्फ ढल्कनासाथ देवताहरूको रात्रीकाल हुने चर्चा विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । आषाढ महिनामा पर्ने हरिशयनी एकादशीका दिन विष्णु क्षीरसागरमा पुगेर शयन गर्ने र कार्तिक शुक्ल पक्षमा पर्ने हरिबोधिनी एकादशीका दिन निद्रा त्यागी ब्युँझने कथाप्रसङ्ग पाइन्छ ।

हिन्दू धर्म मान्ने प्रत्येक व्यक्तिको घरमा तुलसीको मठ बनाएर सम्मानका साथ तुलसीको संरक्षण र सम्बद्र्धन गरिन्छ । तुलसीको विरुवामा हुने एक प्रकारको तेल वातावरणमा रहेको वायुमण्डलमा सजिलै सम्मिश्रण हुनाले घरको वातावरणलाई प्रदूषण हुनबाट जोगाउने मान्यता पाइन्छ । जहाँ र जुन घरमा तुलसीको वास र पूजा हुन्छ, त्यहाँ ऋद्धिसिद्धिको बास हुन्छ भन्ने मान्यता पनि छ ।

धार्मिक र वैज्ञानिक आधारमा तुलसीको छुट्टै महत्व छ ।

उपत्यकाका चार नारायण र बुढानीलकण्ठका साथै देशभरका नारायण मन्दिरमा आज भक्तजनको विशेष भीड लाग्ने गर्छ । आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीका दिनसम्म तुलसीको हवन गर्न हेराउनु नपर्ने धार्मिक मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top