कोरियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीका लागि दुई दिने शैक्षिक कार्यक्रम

सुम्निमा सुब्बा
सियोल (दक्षिण कोरिया)ः दक्षिण कोरियाको एक अग्रणी बैंकिङ संस्था केबी कुकमिन बैंकले कोरियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि दुई दिने शैक्षिक कार्यक्रम आयोजना गरेको छ ।

वित्त, कोरियाको बैंकिङ प्रणाली, दिगो वित्त र वित्तको डिजिटलाइजेसनबारे सिक्ने प्लेटफर्म प्रदान गर्ने उद्देश्यका साथ आयोजित  कार्यक्रमलाई केबी कुकमिन बैंकले प्रायोजन गरेको हो । ‘बेब्बीकुम’ र ‘द नेल न्युज’ द्वारा आयोजित कार्यक्रममा ‘एसियाली वित्तको नेतृत्व गर्ने, भविष्यका वित्तीय नेतृत्वकर्ताहरूलाई समर्थन गर्छौँ’ भन्ने विषयवस्तु रहेको थियो । १९ देशका ३० जना विद्यार्थी सहभागी भएको सो कार्यक्रम नोभेम्बर १५  मा शुरु भएको थियो । कार्यक्रम आज नोभेम्बर १६ मा सम्पन्न हुनेछ ।

‘एसिया के बैंकर स्कुल’ शीर्षक कार्यक्रमको पहिलो दिन ग्लोबल प्रमोशन डिभिजनका टिम लिडर लिम डोङ–ग्युले सम्बोधन गर्नुभएको थियो । उहाँले केबी बैंकले ग्राहकहरूको आजीवन बैंकिङ साझेदार बन्न निरन्तर रूपमा काम गरिरहेको बताउनुभयो ।

कार्यक्रमको पहिलो दिन नै हानयाङ विश्वविद्यालयका प्राध्यापक जुङ डो युङले ‘कोरिया र विश्वको वित्त’ शीर्षकमा व्याख्यान प्रदान गर्नुभएको थियो । उहाँले एशियामा सम्भावनाले भरिपूर्ण क्षेत्र रहेको उल्लेख गर्नुभयो ।

‘इएसजी फाइनान्स’, ‘फिनटेक’ जस्ता विश्व वित्तका धेरै महत्वपूर्ण विषयहरू समूहहरूमा सहभागीहरू बीच छलफल गरिएको थियो । नेपालका साथै मंगोलिया, फिलिपिन्स, अजरबैजानलगायत एसियाका विभिन्न देशबाट भेला भएका विद्यार्थीहरूले आ–आफ्नो देशको आर्थिक अवस्थाबारे छलफल गरी एकअर्काका देशबीचका साझा समस्याहरू र समाधान खोज्ने प्रयास गरेका थिए ।

कार्यक्रमका तस्बिरहरुः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top