एक जना स्वतन्त्रसहित १६ जनाले दिए ग्रामथानमा उम्मेद्वारी, उम्मेद्वार सबै पुरुषमात्रै

तेतरियाः मंसिर १६ गते हुने उपनिर्वाचनअन्तर्गत मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि १६ जनाको उम्मेद्वारी परेको छ । जसमा एक जनाको स्वतन्त्र उम्मेद्वारी परेको हो भने बाँकी दलीय उम्मेद्वार हुन् ।

निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार सबैभन्दा पहिले राष्ट्रिय प्रजातन्त्र पार्टीका दिनेशकुमार थन्दारले मनोनयन दर्ता गराएका थिए । दोस्रो उम्मेद्वारी नेपाल समाजवादी पार्टीका रामकुमार चौधरी र तेस्रो उम्मेद्वारी जनमत पार्टीका विनोदकुमार माझीले गराएका थिए ।

त्यस्तै, नेकपा एमालेबाट तुलसीराम विश्वास, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवीनकुमार चौधरी विश्वास, जनता समाजवादी पार्टीबाट धर्मेन्द्रकुमार चौधरी, नेपाली कांग्रेसबाट बलराम सरदार, नेकपा माओवादी केन्द्रबाट नमोनारायण माझी, नेपाल मजदुर किसान पार्टीबाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर विश्वकर्मा, राप्रपा नेपालबाट राजु मुसहर, जसपा नेपालबाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझीले मनोनयन दर्ता गराएका छन् ।

स्वतन्त्र उम्मेद्वारी दिने नेकपा एमालेबाट अध्यक्ष पदका आकांक्षी नमनारायण चौधरी हुन् । पार्टीले आफूलाई उम्मेद्वार नबनाई तुलसीराम विश्वासलाई टिकट दिएपछि उनले स्वतन्त्र उम्मेद्वारी दिएका हुन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा ग्रामथानको अध्यक्षमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार विजयी भएका थिए । उनको असार ३ गते निधन भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top