लेखापढी व्यवसायी एसोसिएसन बेलबारीको साधारणसभा सम्पन्न

बेलबारीः नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाई समिति बेलबारीको २५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

एसोसिएसनका केन्द्रीय अध्यक्ष सीताराम दाहालले प्रमुख अतिथिको आसनबाट साधारणसभालाई सम्बोधन गर्दै लेखापढी व्यवसायीलाई राज्यले बिचौलिया देख्नु दुःखद भएको बताउनुभयो । अदालतले लाइसेन्स दिएपछि काम गर्ने जनशक्तिलाई यस्तो भन्नु गलत भएको उहाँको भनाइ थियो ।

विशिष्ट अतिथि केन्द्रीय महासचिव कृष्णप्रसाद दाहालले व्यवसायीको हक हित स्थापित गराउन एसोसिएसन सधैँ लागिरहेको बताउनुभयो । लेखापढी व्यवसायीलाई नयाँ प्रविधि र नयाँ कानुनका विषयमा तालिम दिन आवश्यक रहेको उहाँले औँल्याउनुभयो ।

बेलबारी इकाई समिति २५ वर्ष पुगेको अवसरमा संस्थाले सबैभन्दा धेरै भू–सेवा प्रयोग गर्ने ४ जनालाई सम्मान गरेको छ । सजिलो लेखापढी फर्म, माधव काफ्ले, सगरमाथा लेखापढी र विमल पोखरेललाई सम्मान गरिएको हो । सबैभन्दा धेरै लिखत दर्ता हुनेमध्येबाट पथरी लेखापढी सेन्टर र केराबारी बयरवन लेखापढी सेन्टरका सञ्चालक प्रह्लाद राजवंशीलाई सम्मान गरिएको थियो । सबैभन्दा धेरै नेपाली कागज खरिद गर्ने पूर्वाञ्चल लेखापढी सेन्टरलाई पनि सम्मान गरिएको थियो ।

साधारणसभामा सचिव कैलाश पोखरेलले एसोसिएसनको वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो । कोषाध्यक्ष प्रकाशकुमार थापा मगरले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष युवराज कार्की, बेलबारी मालपोत कार्यालयका अधिकृत हरिप्रसाद पौडेल, विभिन्न इकाईका अध्यक्ष तथा कानुन व्यवसायीहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top