सानीभेरीका २ उम्मेद्वारविरुद्ध उजुरी, आज जाँचबुझ गरी निर्णय हुने

काठमाडौंः मंसिर १६ गते हुने उपनिर्वाचनका ४१० उम्मेद्वारमध्ये २ जना उम्मेदवारविरुद्ध मात्र उजुरी परेको छ । उनीहरु दुवै जना सानीभेरी वडा नम्बर ५ का उम्मेद्वार हुन् । आज ती उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

आयोगका अनुसार त्यहाँ नेपाली कांग्रेसका उम्मेदवार मोतीराज खत्री र नेकपा माओवादी केन्द्रका उम्मेदवार जसिराम बस्नेतविरुद्ध उजुरी परेको छ । कांग्रेस उम्मेदवार खत्रीमाथि शिक्षक भएको भन्दै र माओवादी उम्मेदवार बस्नेत व्यवसायी भएको भन्दै उजुरी परेको आयोगले जनाएको छ ।

उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता भएको थियो । ३३ जिल्लाका ४४ पदमा हुने उपनिर्वाचनका लागि ४१० जनाको उम्मेदवारी दर्ता भएको थियो । कुनै उम्मेदवारविरुद्ध उजुरी भए आइतबार बिहान १० बजेदेखि ३ बजेसम्म उजुरी दिने समय तोकिएको थियो ।

आज साँझ ५ बजेसम्म उजुरीउपर जाँचबुझ गरी आयोगले निर्णय गरी ६ बजेभित्र निर्वाचन अधिकृतको कार्यालयमा नामावली प्रकाशित हुने छ । भोलि मंसिर ५ गते उम्मेद्वारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । भोलि अपराह्न ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top