कर्णाली डेभलपमेन्ट बैंक समस्याउन्मुख भएपछि व्यवसाय गर्न राष्ट्र बैंकले लगायो रोक

विराटचोकः पूँजी कोष अनुपात नपुगेपछि नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याउन्मुख घोषणा गरेको छ । राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाही गर्दै समस्याउन्मुख घोषणा गरेको हो । सो बैंकलाई आजैदेखि थप निक्षेप संकलन तथा कर्जा प्रवाह गर्न रोक लगाइएको राष्ट्र बैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागले जनाएको छ ।

बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको सो बैंकले तोके बमोजिमको न्यूनतम पूँजीकोष अनुपात कायम नगरेको तथा निष्कृय कर्जा (एनपीएल) अनुपात ४०.८५ प्रतिशत कायम रहेकाले कारवाही गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

२०८१ साउन ६ देखि ११ सम्म राष्ट्र बैंकबाट सम्पन्न लक्षित निरीक्षणको प्रतिवेदन अनुसार सो संस्थाको कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन गर्दा बैंकले तोके बमोजिमको न्यूनतम पूँजीकोष अनुपात कायम नहुने, निस्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम हुने लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएको हुँदा निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले बैंकले शीघ्र सुधारात्मक कारवाही अघि बढाएको राष्ट्र बैंकले जनाएको छ ।

६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरुमा सुधार गर्ने शर्तमा आजैका मितिदेखि लागू हुने गरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top